
काठमाण्डौ ।
चट्याङ्ग लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा गरि तीन जनाको ज्यान गएको छ ।
हिजो बेलुका परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका–२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।



उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा राति १० बजे ज्यान गएको हो ।
प्रहरीका अनुसार गोठमा भैँसीको दूध दुहुँदै गर्दा उनलाई चट्याङ्ग लागेको थियो । यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका–५ मा पनि चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ ।
घरमा बसिरहेका बेला चट्याङ्ग लागेर घाइते भएकी ३९ वर्षकी ईश्वरी लामिछानेको गण्डकी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
यसैबीच, भोजपुरको षडानन्द गाउँपालिका–८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि चट्याङ्ग लागेर ज्यान गएको छ ।
उनलाई पनि घरमै बसिरहेका बेला चट्याङ्ग लागेको थियो ।








