
बुटवल ।
रूपन्देहीको सैनामैना नगरपालिकाले कृषकहरु लाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।
नगरपालिका कार्यालय परिसरमा शुक्रबार नगरका कृषकहरुलाई विद्युतीय च्यापकटर वितरण गरिएको हो । नगरप्रमुख चित्र बहादुर कार्कीले कृषकहरुलाई उपकरण हस्तान्तरण गरेका हुन ।



५० प्रतिशत अनुदानमा नगरभित्रका ४२ कृषकहरूलाई च्यापकटर (घाँस तथा पराल काट्ने मेसिन) वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको तर्फबाट १० र प्रदेश सरकारबाट ३२ गरि कूल ४२ वटा औजार वितरण गरिएको हो ।
कृषि उपकरण हस्तान्तरण गर्दे नगरप्रमुख कार्कीले कृषि क्षेत्रलाई प्रथामिकतामा राखेको उल्लेख गर्दै कृषकहरुलाई व्यवसायीक खेतितर्फ प्रोत्साहन गर्न नगरपालिका लागि परेको बताए ।उनले नगरलाई कृषि क्षेत्रको हबको रुपमा विकास गर्ने नगरको योजना समेत रहेको बताए । सरकारले उपलब्ध गराएको अनुदान र सेवा सुविधाको अधिकतम रुपमा कृषकहरुले प्रयोग गर्ने वातावरण सिर्जना गर्न नगरपालिका प्रतिबद्ध रहेको प्रमुख कार्कीको भनाइ छ । कार्कीले कृषकहरूमा पशु आहार सम्बन्धी ज्ञान हुनुपर्नेमा जोड दिए ।
सैनामैना नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनको लागि नगरपालिकाले सक्दो प्रयास गरिरहेको उपप्रमुख विना रानाको भनाइ छ । रानाले नगरका कृषकहरुको दैनिक काम गर्ने शैलीमा छिटो र सहज होस् भन्ने उद्देश्यले उक्त च्यापकटर प्रदान गरिएको बताइन।
नगरपालिकाका पशु विकास अधिकृत इन्द्रबहादुर खड्काले सामाग्री हस्तान्तरण गर्दा कम्तिमा ५ वटा दुहुना भैंसी वा ३० वटा माउ बाख्रा भएकाहरू तथा पशु विकास शाखामा दर्ता भएका कृषकका आधारमा छनोट गरिएको जानकारी दिए ।
नगरको पशु विकास शाखाले कृषकका लागि हिउँदे घाँसको बिउ, बर्खे घाँस लगायत वितरण गर्दै आएको बताउँदै उनले कृषकहरूलाई पशु बिमा गर्न आग्रह गर्दै नगरका करिब ४ सय कृषकलाई विमा सुविधा उपलब्ध गराइएको जानकारी गराए ।
सैनामैना वडा नं ११ का वडाध्यक्ष सुनिलप्रसाद मरासिनीले औजारले कृषकको समय बचत तथा सहज हुने अपेक्षा गरेको बताउँदै उपकरणको सही सदुपयोग गर्न कृषकहरूलाई आग्रह गरे । ४० हजार पर्ने मेसिनमा नगरपालिकाले २० हजार अनुदान दिएको छ भने बाँकी २० हजार कृषकले नै दिएका छन् ।
सैनामैना दुध, माछा, मासु अण्डा र तरकारीमा आत्मनिर्भर बन्दै आएको छ ।









