
काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक आइतबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठक गत चैत ३० मा बस्ने भनिए पनि स्थगित भएको थियो। बैठकमा पार्टीको आगामी १४औं महाधिवेशनको तयारीलगायत विभिन्न समसामयिक विषयमा छलफल हुने बताइएको छ। कांग्रेसले भदौ ७ का लागि महाधिवेशनको मिति तोकेको छ।



महाधिवेशनका लागि क्रियाशील सदस्यताको विवरण गत चैत ३० सम्म केन्द्रीय सर्भरमा इन्ट्री गर्ने समयसीमा तोकेको थियो।
तर‚ कतिपय जिल्लाबाट क्रियाशील सदस्यताको टुंगो नलागेको र कतिपय जिल्लाले टुंगो लागेको सदस्यता विवरण पनि सफ्टवेयरमा नराखेको भन्दै छुटेका जिल्लालाई महाधिवेशनमा कसरी समेट्ने भन्ने विषयमा पनि आज निर्णय गर्ने तयारी छ।








