
रुपन्देही ।
निजी क्षेत्रसँगको सहकार्यमा रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आधुनिक र नमुना ढुवानीग्राम निर्माण अन्तिम चरणमा पुगेको छ ।
बजार क्षेत्रमा रहेका हेभी लोडका सवारीसाधनलाई व्यवस्थित गर्ने योजनाअनुसार निर्माण गरिएको ढुवानीग्रामको काम सकिन लागेपछि यहाँका ढुवानी व्यवसायी खुसी भएका छन् ।



ढुवानी व्यवसायीका अगुवा तथा ढुवानीग्राम निर्माण कार्यदलका सदस्य माधव नेपालले बुटवलको पहिचानका रुपमा नमुना अटो भिलेजपछि अब नमुना ढुवानीग्राम बन्ने दाबी गरे । उनले लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितता भएकाले नै आफूहरुले सार्वजनिक क्षेत्रसँग सहकार्य गरेको बताए ।
उपमहानगर स्वामित्वको जग्गामा कुल ३० करोड लागत अनुमान गरिएको यो योजनामा ढुवानी व्यवसायीको साढे १२ करोड लगानीे छ । ग्राम जाने पहुँच मार्ग निर्माण भइसकेको छ भने व्यवस्थित पर्खालसमेत निर्माण भएको छ ।
उपमहानगरपालिकाकाको स्वामित्वमा रहेको वडा नं.१२ ढवाहस्थित भैरहवा टोलमा तीन बिगाह क्षेत्रफलमा करिब ३० करोड लागतमा ढुवानीग्राम निर्माणको काम भइरहेको छ ।
सार्वजनिक निजी क्षेत्रको साझेदारीको योजनाअनुसार रुपन्देही परिवहन प्रालिसँगको सहकार्यमा ढुवानीग्रामको कामलाई बहुवर्षीय योजनाको रूपमा अगाडि सारिएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
मुलुकको आर्थिक केन्द्रका रुपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमुना ढुवानी ग्राम निर्माण गरिएको र निर्माणकार्य अन्तिम चरणमा पुगेको सुवेदीको भनाइ छ ।
नगर प्रमुख शिवराज सुवेदीले व्यस्त र भिडभाडयुक्त बजार क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले उपमहानगरपालिकाले गरेको प्रस्तावमा निजी क्षेत्रले सहजै सहकार्य गर्ने प्रतिवद्धता जनाएकाले काम तोकिएको समयमै पूरा भएको बताएका छन् ।
हेभी लोडका ढुवानीका सवारीलाई अलग्गै ठाउँको व्यवस्था मिलाएपछि अब सहरको ट्राफिक चाप कम हुने भएको छ । ठूला र भारवाहन ढुवानीका साधनहरूको आवतजावतले बुटवल बजार क्षेत्र अस्तव्यस्त बनिरहेको अवस्थामा बजारदेखि टाढा रहेको क्षेत्रमा व्यवस्थित ढुवानीग्राम निर्माण भएपछि सहरी सौन्दर्यतामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
उपमहानगरले गुरुयोजना नै बनाएर ढुवानी ग्राम निर्माणको काम सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए । उनले निजी क्षेत्रसँगको सहकार्यमा बुटवलले अर्को नमूना कामको थालनी गर्न पाएको बताए ।
नयाँ वर्षको सुरुमै शुभारम्भ गर्नेगरी तयारी गरिएपनि कोरोना महामारीको जोखिमले केही पर सरेको छ । ढुवानीग्राममा साना ग्यारेजदेखि प्राथमिक उपचारकक्षसम्म निर्माण हुनेछन् । उपमहानगरले त्यस क्षेत्रमा पुग्न पहुँचमार्ग, ढल तथा नाली निर्माण गरेको छ ।








