
काठमाडौं ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज विभिन्न कार्यक्रम गरी ५२ औँ स्थापना दिवस मनाउँदैछ।
नेविसंघको केन्द्रीय कार्य समितिले दिउँसो १ बजे वाल्मीकि क्याम्पस प्रदर्शनी मार्गमा विशेष कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको हो।



दिवसका अवसरमा ‘नेविसंघ स्थापनाको पाँच दशक, वर्तमानका चुनौतीहरू र अबको दायित्व’ विषयक विचार गोष्ठीको आयोजना गरिएको अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए।
विचार गोष्ठीमा पार्टी सभापति शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम छ। २०२७ सालमा पञ्चायती व्यवस्थाविरुद्ध विद्यार्थीलाई संगठित गर्न नेपाली कांग्रेसका विद्यार्थी नेताहरूले नेविसंघको स्थापना गरेका थिए।
पछिल्लो समय नेविसंघले पार्टीको आन्तरिक बेमेल र कोरोना महामारीका कारण महाधिवेशन गर्न सकिरहेको छैन।








