
काठमाडौं ।
त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल आज हुँदैछ ।
शनिबारदेखि सुरु भएको सिरिजमा नेपाल र नेदरल्याण्ड्स दोस्रोपटक खेल्न लागेका हुन् । यसअघि उदघाटन खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।



त्यसपछि नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराउँदै पहिलो जित हात पारेको थियो । नेपालले सोमबार मलेसियालाई पनि ९ विकेटले हराउँदै दोस्रो जित हात पारेको थियो ।
घरेलु टोली नेपाल लगातार तेस्रो खेल जित्दै फाइनलमा स्थान पक्का गर्ने योजनामा छ । उता नेदरल्याण्ड्स पहिलो हारको बदला लिने दाउमा हुनेछ ।
मलेसियालाई हराउँदै लगातार दोस्रो जित हात पारेपछि नेपालका प्रशिक्षक डेभ वाटमोरले नेदरल्याण्ड्ससँगको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छन् ।
डबल राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
नेपालले पछिल्ला दुई खेलमा नेदरल्याण्ड्सलाई हराएको छ । साथै घरेलु मैदानमा खेल्दा नेपालको मनोबल उच्च हुनेछ ।
तर नेपालमा कोभिड–१९ को बढ्दो असर कम गर्न नेपाल सरकार मन्त्रिपरिषद बैठकले सोमबार सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी व्यक्तिहरु उपस्थित नहुन, दर्शकसहितको खेलकुद प्रतियोगिता सञ्चालन गर्न नपाइने आदेश जारी गरेपछि नेपाल क्रिकेट संघले त्रिकोणात्मक सिरिजको बाँकी खेलहरुमा दर्शक प्रवेश निषेध गरेको गरेको छ ।
त्यसैले अब नेपालले दर्शकबिनै खेल्नुपर्ने छ ।








