
काठमाडौं ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्।
वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन्।



आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। यसैले आश्विन शुक्ल पक्षको दशैंलाई बडादशैं भनिन्छ। बडादशैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ। यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ।
चैते दशैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन। हनुमानढोकाको दशैंघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ। चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ।
अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ।
विगत वर्षमा चैते दशैं पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ। विगत वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले पाँच जनाभन्दा बढी उपस्थित नहुन आदेश जारी गरेकाले दूरी कायम गरेर दर्शनको व्यवस्था गरिने जनाइएको छ।
मन्दिर जान नसक्नेले घरबाटै मानसिक रुपमा दर्शन गर्न सकिने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए।
बडादशैं जस्तै चैते दशैंको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो।
बडादशैंमा जस्तै चैते दशैंमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ। उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी लगायत पीठमा चैते दशैंका अवसरमा विशेष पूजा हुन्छ।








