
काठमाडौं ।
रुपन्देही, दाङ,झापा, तनहुँमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
रुपन्देहीको देवदह नगरपालिका १२ सुक्रौलीमा पनि ट्याक्टर र मोटरसाइकल आपसमा ठोकिँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा रुपन्देहीकै ओमसतीया गाउँपालिका ५ का २२ वर्षीय गौतम चौधरी रहेका छन्।



भैरहवा स्थित भिम अस्पतालमा उपचारको क्रममा चौधरीको मृत्यु भएको हो अरु घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
दाङको बबई गाउँपालिका ४ मा माइक्रोको ठक्करबाट मोटरसाइकलमा सवार १ बालकको मृत्यु भएको छ। दुई जना भने घाइते भएका छन्। मृत्यु हुनेमा दाङकै तुल्सीपुर उपमहानगरपालिका ६ मोतिपुरका सुदिप आचार्यका सात वर्षीय छोरा स्पर्श रहेका छन्। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुदिप आचार्यसहित दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
झापाको मेचीनगर नगरपालिका १३ चार आली चोकमा मंगलबार बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकल चालक मोरङको पथरी शनिश्चरे नगरपालिका ९ का २१ वर्षीय प्रवेश बयलकोटीको मृत्यु भएको छ। को २८ प ८८ ९१ नम्बरको मोटरसाइकललाई मे १ ख ८११ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
यस्तै तनहुँको म्याग्दे गाउँपालिका १ तल्लो गुणादी भोर्लो पानीमा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। ग १७ प ८७४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी म्याग्दे गाउँपालिका १ कै ७० वर्षीया राधिका लम्साललाई ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ।









