
नवलपरासी ।
नवलपरासीको रामग्राम नगरपालिकामा लोपोन्मुख ६८ वटा गिद्ध एकैठाँउमा मरेको अवस्थामा फेला परेका छन् ।
रामग्राम नगरपालिका–४, जितपुरमा एक पोखरी नजिकै गिद्धहरु एकैठाँउमा मरेको भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले जानकारी दिए । उनका अनुसार चार प्रजातिका गिद्ध मरेको भेटिएको हो ।



हिमाली गिद्ध ३१ वटा, डंगर गिद्ध ३४, सानो खैरे गिद्ध र सिनेरस गिद्ध २ वटा गरेर ६८ मरेको प्रमुख लामिछानेले बताए । केही गिद्ध गम्भीर अवस्थामा छन् । उनीहरुको उपचारमा भेटेनरी चिकित्सकहरु परिचालन गरिएको छ ।
एकैठाउँ यति धेरै गिद्धहरु मरेको अवस्थामा फेला परेपछि थप अनुसन्धान गर्न कोषबाट तीनजना विज्ञ चिकित्सकहरुको टोली त्यहाँ पुगेका छन् । डा. अमिर सोडौलासहित टोलीले मरेका गिद्धहरुको परीक्षण गर्ने उनले बताए । घटनाको प्रारम्भिक अनुसन्धान गर्दा स्थानीयले कुकुरलाई विषादी हालेर मारेको र त्यसलाई खाँदा गिद्धहरु मरेको हुनसक्ने अनुमान गरिएको छ ।
मरेका केही कुकुर त्यस आसपास भेटिएको छ । स्थानीयका अनुसार मंगलबार दिउँसो सिनो खान आएका गिद्ध अचानक बिरामी परेर धमाधम चउरमा नै मर्न थालेका थिए ।
लोप हुन लागेका गिद्ध जोगाउने भन्दै सरकारी तवरबाट नै प्रयास भइरहेको बेला यतिको ठूलो संख्यामा सामूहिक रुपमा गिद्ध मर्नु दुःखद भएको कोषका प्रमुख लामिछानेले बताए ।









