
प्युठान ।
प्युठानको स्वर्गद्वारी नगरपालिकाले कोभिड संक्रमणको दोश्रो लहर बढिरहेको भन्दै विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।
व्यापारिक क्षेत्र र वित्तीय संस्थाहरु एक साता तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा विहीबार र शुक्रबार (वैशाख ९ र १० गते) दुई दिन बन्द गरिएको छ ।



बुधवार बसेको स्थानीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विषयगत क्षेत्रहरु छुट्याई सन्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर के.सी.ले जानकारी दिए ।
केसीका अनुसार अर्काे सूचना नभएसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय भएको छ । पालिका भित्रका बैंक तथा वित्तीय संस्था, व्यापारिक पसलहरु, होटल लगायत सर्वसाधारण जमघट हुने स्थानहरु भने एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
स्वास्थ्य संस्थाहरुबाट एन्टीजिन परीक्षण गर्दा अत्याधिक पोजेटिभ देखिएकाले स्वास्थ्य संस्था निःसंक्रमण गर्न अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु वैशाख ९ र १० गते दुई दिन बन्द गर्ने निर्णय पनि भएको केसीले जानकारी दिए ।
तरकारी, फलफुल, दूधजन्य पसल तथा अत्यावश्यक सेवा प्रवाहका क्षेत्रहरु तोकिएको मापदण्ड पूरा गरी सन्चालन हुने छन् ।
नगरपालिकाले अत्यन्त जरुरी कामबाहेक घर बाहिर ननिस्कन, अन्य व्यक्तिको सम्पर्कमा जाँदा मास्क अनिवार्य प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, साबुनपानीले नियमित हात धुन वा स्यानिटाइजर प्रयोग गर्न र संक्रमणको शंका लागेमा अनिवार्य १० दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।









