
बुटवल ।
अभिभावक संघ रुपन्देहीले स्वास्थ्य सूरक्षाका मापदण्ड पालना गरी पुर्व निर्धारीत परीक्षाहरु सञ्चालन गर्न माग गरेको छ ।
विद्यालयमा पठन पाठन बन्द गर्ने उपमहानगरको निर्णयले शैक्षिक सत्रको अन्त्यमा परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुको मनोवैज्ञानिक प्रभाव परेको भन्दै परीक्षाहरु सञ्चालन गर्न माग गरिएको हो ।



स्वास्थ्य सूरक्षाका मापदण्ड पालना गरी पुर्व निर्धारीत परीक्षाहरु सञ्चालन गर्न माग गर्दै संघले आज लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो । रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा पठन पाठन बन्द गर्न प्रशासनले बुधबार निर्देशन दिएको थियो ।
संघका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीको नेतृत्वमा गएको अभिभावक संघको टोलीले आज सामाजिक विकास मन्त्रालयका उप सचिव थानेश्र ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको हो ।
रुपन्देही जिल्लाका बुटवल र भैरहवा बाहेकका अन्य पालिकाका विद्यालयहरुले निर्वाध रुपमा विद्यालय सञ्चालन गरी परीक्षा सञ्चालन गर्ने तयारीमा रहेको भन्दै संघले बुटवल र भैरहवाका विद्यालयहरुमा पनि स्वास्थ्य सूरक्षाका मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरेकोे छ ।









