
नेपालगञ्ज ।
भारतमा कोरोना संक्रमण अत्यधिक बढेपछि त्यहाँ विभिन्न पेशा व्यवसाय गरेर बसेका हजारौं नेपालीहरू स्वदेश फर्किरहेका छन्।
नेपाल भारत सिमानाको नेपालगञ्जको जमुनाह नाकामा थेग्नै नसकिने गरी स्वेदश फर्किनेको भीड बढिरहेको छ।



नेपालका विभिन्न जिल्लाबाट भारतको विभिन्न शहरमा रोजगारीका लागि पुगेका नेपाली नागरिकहरु कोरोना महामारीबाट बच्न फर्कने क्रममा जमुनाह नाकामा पुगेको हुन्।
नाकामा स्वेदश फर्किनेको संख्या हजारौं भएकाले प्रहरीलाई पनि हम्मेहम्मे परेको छ।
व्यवस्थापनका लागि त्यहाँ खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भीड सम्हाल्नै समस्या भैरहेको जमुनाह प्रहरी प्रमुख सई विष्णु गिरीले बताए। त्यस नाकाबाट दैनिक पाँचदेखि छ हजारको हाराहारीमा नेपाली स्वदेश फर्किरहेका छन्।
जमुनाह नाकाबाट नेपाल प्रवेश गर्नेमा अधिकांश लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक रहेका छन्।









