
बुटवल ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले रुपन्देहीमा कालोझण्डा देखाएर विरोध जनाएका छन् ।
पार्टी तथा संसदीय दलको निर्णय एवम् ह्वीप उल्लंघन गर्दै पार्टीलाई झुक्काएर मन्त्री बनेको विरोधमा जिल्ला नेता तथा कार्यकर्ताहरुले मन्त्री पाण्डे सहभागि हुने सार्वजनिक कार्यक्रम बहिस्कार गरिने जसपा रुपन्देही अध्यक्ष रामअवतार यादवले बताए ।



रुपन्देहीको मर्चवारमा एक कार्यक्रममा जाने क्रममा मन्त्री पाण्डेलाई मर्यादपुर, मझगावा र गोनहिया लगायतका स्थानमा जनता समाजवादी पार्टीकै नेता कार्यकर्ताले सडकमा टायर बालेर तथा कालो झण्डा देखाएर विरोध जनाएका थिए।
उनीहरुले मन्त्रीको बाटो छेक्ने प्रयास गरेपनि प्रहरीले बल प्रयोग गरेर मन्त्रीलाई गन्तव्यतर्फ पुर्याएको थियो ।
पाण्डे मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै निर्णय बदलेर लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए ।









