
काठमाण्डौ ।
प्रदूषण घटेर आकाश खुलेसँगै दुई दिनयता देशभर गर्मी बढेको छ ।
अघिल्लो हप्ता हावाहुरीसहित पानी परेपछि प्रदूषण र तुवाँलो हट्दै गएपछि गर्मी बढेको हो । मौसमविद् वरुण पौडेलले आउँदो बिहीवारसम्म देशभरको मौसम सफा हुने र गर्मी बढ्दै जाने बताए ।



तराईका जिल्लाहरुसँगै अरु ठाउँमा पनि गर्मी बढेको छ ।
ै हिजो भैरहवाको तापक्रम ३९, नेपालगञ्जको ३८ दशमलव ३, धनगढीमा ३८ दशमलव २ र सिमरामा ३७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज पनि बिहानैदेखि गर्मी छ ।
आज काठमाण्डौको तापक्रम ३३ डिग्री पुग्ने अनुमान गरिएको छ ।
यस्तै दिपायलको तापक्रम ३५ देखि ३७, धनगढीको ३७ देखि ३९, विराटनगरको ३४ देखि ३६, भैरहवाको ३८ देखि ४० र जनकपुरको ३७ देखि ३९ डिग्री सेल्सियसम्म पुग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसम सफा रहेको र तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । केही दिन अघिसम्म राम्रोसँग घाम नलाग्ने, तुवाँलो लाग्ने र वातावरण प्रदूषणले आकाश नखुल्दा चिसो महसुस गरिएको थियो ।
अहिले घामले जमिन तातेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् ।








