
गुल्मी ।
गुल्मीमा रहेको पिसिआर परीक्षण गर्ने प्रयोगशाला बन्द रहेको छ। कोरोना महामारी बढिरहेका बेला बजेट अभावमा प्रयोगशाला बन्द रहेको छ।
गत असोज १ गते नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले धुमधामका साथ उद्घाटन गरेको प्रयोगशाला स्थानीय तहहरूको सहयोगमा रेसुंगा नगरपालिकाको संयोजनमा सञ्चालन भएको थियो।



प्रयोगशालामा काम गर्ने १० जना कर्मचारीले पाँच महिनाको तलब समेत पाउन सकेका छैनन ।
अहिले कर्मचारीहरु रित्तो हात घर फर्किएका छन् । सरोकारवाला निकायले भने उनीहरूलाई पारिश्रमिक दिन र प्रयोगशाला सञ्चालनमा ल्याउन चासो नदिएको स्थानीयको गुनासो रहेको छ। गुल्मीको प्रयोगशाला सञ्चालनमा नआएपछि स्वाब परीक्षणका लागी पाल्पा तथा बुटवलमा पठाउनुपर्ने बाध्यता भएको छ।
रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले नगरपालिकाले प्रयोगशाला सञ्चालनमा ल्याउन सक्ने अवस्था नभएको बताए।
प्रयोगशाला सञ्चालन गर्न खर्चिलो हुने र पहिलेकै कर्मचारीहरूलाई पनि पारिश्रमिक दिन नसकिएको उनले बताए। यता जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले प्रयोगशाला सञ्चालनका लागि प्रदेश सरकारसँग बजेट माग गर्ने र दीर्घकालीन रुपमा सञ्चालन गर्न केन्द्रीय सिसिएमसीलाई अनुरोध गर्ने निर्णय गरेको छ।
पछिल्लो १३ दिनमा गुल्मीमा चारजना कोरोना संक्रमितको मृत्यु भएकोे छ। यस्तै‚जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या ७६ रहेको स्वास्थ कार्यालयले जनाएको छ ।









