
पाल्पा ।
कोरोना महामारीको दोस्रो लहर फैलिएपछि पाल्पाका सबै विद्यालय मंगलबारदेखि बन्द भएका छन्।
विद्यालय बन्द भएसँगै ७१ हजार ३०२ जना विद्यार्थीको पढाइ प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख रमेशराज पौडेलले बताए। उनका अनुसार विद्यार्थी उक्त संख्या बाल कक्षादेखि १२ कक्षासम्मको हो।



विद्यालय बन्द भएपछि वार्षिक परीक्षा स्थगित भएका छन्। सञ्चालन भइरहेका परीक्षासमेत रोकिएका छन्। पाल्पामा ४९३ वटा विद्यालय छन्। जसमध्ये ४४९ सामुदायिक र ४४ वटा संस्थागत हुन्।
यहाँका १० वटै स्थानीय तहले विज्ञप्ति जारी गरी अनिश्चकालका लागि विद्यालय बन्द गर्ने जनाएका छन्। भौतिकरूपमा उपस्थित भइ गराइने पठनपाठन तथा परीक्षा सञ्चालन गर्न नपाइने भए पनि भर्चुअल तथा अन्य वैकल्पिक माध्यमबाट पठनपाठन गर्न र गराउन भनिएको प्रमुख पौडेलले बताए।
पाल्पामा दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहेको छ। अहिले जिल्लामा १६४ सक्रिय संक्रमित छन्। अहिले सम्म ३९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।









