
बुटवल ।
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । वैशाख १९ गते आईतवार बैठक बस्ने गरी विशेष अधिवेशन बोलाईएको हो ।
प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै दलहरूले विशेष अधिवेशन माग गरका थिए ।



प्रदेश प्रमुखको कार्यालयले १९ गते आइतवार दिउँसो १ बजे बैठक बस्ने गरी विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
गत चैत २४ गते १ हप्तामै प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको थियो । वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
अविश्वासको प्रस्ताव दर्तासँगै प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशन बोलाउन समावेदन पेश गरिएको थियो ।
अविश्वासको प्रस्ताव दर्ता भएपछि हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा) का नेताहरु समेटेर मुख्यमन्त्री पोख्रेलले बन्त्री मण्डल विस्तार गरेका थिए ।
पार्टीको निर्णय बाहिर गएर नेताहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे सरकारमा गएपछि अहिले जनता समाजवादी पार्टी (जसपा) मा तीव्र विवाद छ ।
जसपाका ४ सांसद आफूतिर तानेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार भने सुरक्षित भएको छ ।








