
पाल्पा ।
जिल्लाको सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा अक्सिजनयुक्त १५ शय्या थप गरिने भएको छ।
कोरोना महामारी फैलिएपछि उपचार सेवा प्रभावकारी बनाउन अक्सिजनयुक्त शय्या थप गर्न लागिएको हो।



अस्पतालमा अहिले ४ वटा आइसोलेसन शय्या (अक्सिजनयुक्त) छन्। अबको केही दिनमै थप १५ शय्या निर्माण गरिने छ।
सबै शय्यामा अक्सिजन व्यवस्था मिलाइने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले बताए। उनका अनुसार मंगलबारदेखि सामग्री ल्याउने काम सुरू भइसकेको छ।
विशेषज्ञ बोलाएर अक्सिजनयुक्त शय्या निर्माणको लागि स्टिमेट तयार गर्ने काम सम्पन्न भएको अस्पतालका प्रमुख डाक्टर जगदीश कुँवरले बताए। उनका अनुसार अबको एक हप्तामा शय्या तयार हुने छ।
यहाँ फार्मेसी सेवा संचालनमा रहेको छ। फार्मेसीमा ३०० प्रकारका औषधीको व्यवस्था रहेको उनले बताए। यहाँबाट कम्तिमा १० प्रतिशत छुटमा यहाँबाट औषधी उपलब्ध गराइन्छ। थाइराइड परीक्षण गर्ने मेसिनसमेत खरिद गरेर ल्याएको उनले बताए। यस्तै डिजिटल एक्सरे र ल्याबको पनि व्यवस्था छ। अस्पतालमा ९० जना कर्मचारी छन्।
पाल्पा अस्पतालले गत वर्षदेखि कोभिड–१९ परीक्षण प्रयोगशालासमेत संचालनमा ल्याएको छ। तानसेनस्थित काजीपौवामा रहेको प्रयोगशालामा पाल्पासहित छिमेकी जिल्लाका स्वाब परीक्षण हुँदै आएको छ।
बिहीबारदेखि ओपिडी सेवा बन्द
बिहिबारदेखि पाल्पा अस्पतालमा ओपिडी सेवा बन्द हुने भएको छ। कोरोना महामारी फैलिएपछि यसको नियन्त्रण गर्न ओपिडी सेवा बन्द गर्नु परेको कुँवरले बताए।
उनका अनुसार आकस्मिक सेवा भने चौविसै घण्टा सुचारु रहने छ। स्वास्थ्य बीमा भएका बिरामीले यहाँबाट अब रेफर लेटर लिनुपर्ने छैन्। सिधै सम्बन्धित अस्पतालमा पुगेर उपचार सेवा लिन सकिने उनले बताए।
पाल्पा अस्पतालमा दैनिक करिब ५ सय जनाले रेफर लेटरसहित विभिन्न उपचार सेवा लिँदै आएका उनले बताए।








