
पाल्पा ।
कोरोना संक्रमण दिनानु दिन बढ्दै गएपछि पाल्पामा पनि एक हप्ता निषेधाज्ञा जारी हुने भएको छ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले बैशाख १७ गते शुक्रवार राती १२ बजेदखि २४ गते राती १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।



नयाँ भेरियन्टको कोरोना संक्रमण पाल्पामा समेत तिब्र रुपमा फैलिएकाले निषेधाज्ञा गर्न लागिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए।
निषेधाज्ञाको समयमा औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाइने छैन ।
अत्यावश्यक दैनिक उपभोगका खाद्य सामग्री, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु दिनमा एकपटक बिहान ६ बजेबाट ११ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु भने सञ्चालन गर्न पाइने उल्लेख छ ।









