
बुटवल ।
रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा आएको छ ।
नगरको वडा नम्बर १ वनकट्टा स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पताल सञ्चालनमा आएको हो ।



अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेको छ ।
बिहीबार अस्पतालको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले अहिले नयाँ भेरियन्टको कोरोना भाइरस तीब्र गतिमा फैलिरहेकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गगे ।
उनले जिल्ला प्रशासनले आजदेखि लागु गरेको निषेधाज्ञाको समेत पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए ।
नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर, एउटा एक्सरे, तीन वटा प्यारामिटर थप भएमा ५० वटा बेडमै संक्रमितलाई सहज तरिकाले उपचार गर्न सकिने बताए ।
उनले यो सुविधा उपलब्ध भएमा नगरसँगै आसपासका पालिकाहरुमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अस्पतालमा एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन् ।









