
पाल्पा ।
पाल्पामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। शुक्रबार (आज) एकैदिन ३९ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ।
कुल ७८ जनाको परीक्षण भएकोमा ३९ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। यसअघिको तुलनामा आज संक्रमितको संख्यामा वृद्धि भएको हो।



जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै १४ जना संक्रमित थपिएका छन्। यस्तै, रामपुर नगरपालिकामा ३, पूर्वखोला गाउँपालिकामा ६, माथागढीमा २, बगनासकालीमा ३, तिनाउमा २, रिब्दीकोटमा ५, रैनादेवी छहरा गाउँपालिकामा ४ जना कोरोना संक्रमित थपिएका उनले बताए।
संक्रमितमध्ये धेरै समुदायस्तरका रहेका पन्थीले बताए। केही भारतबाट फर्किएका छन्।
यससँगै पाल्पामा कोरोना संक्रमितको संख्या २ हजार ३५९ पुगेको छ। जसमध्ये ३५० सक्रिय संक्रमित रहेका छन्। यीमध्ये २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। ३२७ जना होम आइसोलेसनमा बसेका छन्। जिल्लामा हालसम्म ४० जनाको मृत्यु भएको छ।
पाल्पा पनि निषेधाज्ञा हुने :
पाल्पा पनि निषेधाज्ञा हुने भएको छ ।
पाल्पा जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १७ रातिदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निणर्य गरेको छ । पछिल्लो समय कोरोना संक्रमण बढिरहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाइने छैन । सबै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न, मानिसहरु जम्मा हुन, भीडभाड गर्न, जात्रा महोत्सव गर्न तथा कुनै पनि प्रकारको खेलकुद सञ्चालन गर्न निषेध गरिएको उनले बताए ।
अत्यावश्यक दैनिक उपभोगका खाद्य सामग्री, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु दिनमा एकपटक बिहान ६ बजेबाट १० बजेसम्म सञ्चालन गर्न पाइने छ ।
अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइनेछ । निषेधाज्ञामा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु सञ्चालन गर्न पाइनेछ ।
सबैखाले सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने पनि प्रशासनले बताएको छ । यस अवधिमा पत्रकार तथा सञ्चारकर्मीहरुले समाचार संकलन लागि हिँडडुल गर्न परेमा सूचना विभाग वा कार्यरत सञ्चारगृहको परिचयपत्र अनिवार्य रुपमा लिएर हिँड्नुपर्ने निणर्य भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।









