
काठमाण्डौ ।
आज १ मे । मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।
नेपालमा पनि हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ। तर यस वर्ष भने कोरोना भाइरस महामारीका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ।



कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवस प्रभावित बन्ने देखिएको हो। दिवसको अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन्।
यसैबीच
राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै देशको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकप्रति सम्मान प्रकट गरेकी छन् ।
यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध मिलाउन राष्ट्रपतिले सम्बद्ध पक्षको ध्यान आकर्षण गराएकी छन् ।
श्रमको सम्मान सुरक्षित कार्यथलो‚ सामाजिक सुरक्षा‚ आफ्नो जीवनलाई प्रभावित पार्ने नीति निर्णयमा सहभागिताका साथै लैंगिकलगायत सबै प्रकारका विभेदको अन्त्य गर्दै सबैका लागि फलदायी रोजगारीको सिर्जना गर्न नेपाल सरकार कटिबद्ध रहँदै आएको उउनले बताईन ।
विश्वरभरिका श्रमिकको ऐक्यबद्धता एवम् श्रमको सम्मानका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ ।








