
बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको छ । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।




विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए ।
आज लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु हुँदै छ । त्यसअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएलगत्तै अविश्वासको प्रस्तावमाथि मतदान हुने सम्भावना टरेको छ ।
संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिएका हुन ।
उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि लुम्बिनी प्रदेशसभा अहिले ८१ सदस्यीय छ ।








