
काठमाडौं ।
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा फेल गराउन पहल गर्ने निर्णय गरेको छ ।
कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले त्यसका लागि दलहरुसँग पहिला छलफल गर्ने निर्णय गरेको छ ।



बजेट अधिवेशन बोलाउन ढिला भएको र कोभिडलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला विश्वासको मत लिनकै लागि अधिवेशन बोलाइएको भन्दै कांग्रेसले प्रधानमन्त्रीलाई फेल गराउन पहल गर्ने बताएको छ ।
बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने,‘प्रधानमन्त्रीले विश्वासको मत लिन प्रयोजनका लागि २७ गते संसदको बैठक बस्ने निर्णय भएको छ, त्यो विश्वासको मतलाई असफल बनाउन कांग्रेसले पहल गर्ने निर्णय भएको छ ।’
ओली सरकारले संवैधानिक मूल्यमान्यतालाई भत्काउने काम गरेको र प्रदेशहरुमा पनि अल्पमतमा पुगेपछि पनि जबरजस्ती सरकार बनाएको कांग्रेसको आरोप छ ।
कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि ल्याएकोमा समेत आपत्ति जनाएको छ ।








