
काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार (आज) तेजाब (एसिड) तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ लगायत सात अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज ती अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



ती अध्यादेशमा संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी )पहिलो संशोधन, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश,फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने, औषधि (तेस्रो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ छन् ।
संसद्को गएको अधिवेशनमा पेस भएका ती अध्यादेश कार्यसूचीमा परे पनि छलफल हुन नसकेपछि सरकारले पुनः अध्यादेश ल्याएको हो ।
अध्यादेश जारी भएको मितिले ६ महिनाभित्र संसदबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।








