
बुटवल ।
बुटवल उपमहानगरपालिकाले कोभिड–१९ को विश्वव्यापी महामारी विरुद्धको लडाइँमा सहकार्य गर्न र स्वास्थ्य मापदण्ड अपनाउन सार्वजनिक अपिल गरेको छ ।
महामारी विरुद्ध सुरुदेखि र निरन्तर समर्पित रहेकै अवस्थामा बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि, कर्मचारी संक्रमित हुन पुगेपछि उपमहानगरले सार्वजनिक अपिल मार्फत स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको हो ।



उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले शुक्रबार सार्वजनिक अपिल जारी गर्दै महामारी विरुद्धको लडाइँमा सहकार्य गर्न र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे ।
विभिन्न वडामा जिम्मेवारीमा रहनुभएका जनप्रतिनिभि तथा कर्मचारीहरुलाई कामकै दौरानमा भाइरसको संक्रमण भएको छ ।
संक्रमणको पुष्टि भएकाहरु अलग्गै आइसोलेट छ्न भने उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पनि परीक्षण सुरु भएको उपमहानगरले जनाएको छ । अरु जनप्रतिनिधि, कर्मचारीहरु अत्यावश्यक कामका लागि निरन्तर सेवाप्रवाहमा सक्रिय रहेको उपमहानगरले जनाएको छ ।
कोभिड भाइरसको संक्रमणमा पर्नुभएका नगरका जनप्रतिनिधि, कर्मचारी, नागरिकहरु सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं’ अपिलमा भनिएको छ ।अहिलेको यो विषम परिस्थितिमा संयमित हुन, स्वास्थ्य मापदण्डको पालना गर्न र आत्मबल बलियो बनाउन समस्त नगरबासीहरुसमक्ष अपिल गरिएको छ ।
महामारीका विरुद्ध गरिएको निषेधाज्ञाको पालना गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर स्वनियममा बस्न पनि उपमहानगरले सम्पूर्ण नगरबासीहरुमा अनुरोध गरेको छ ।
स्वास्थ्य समस्या उत्पन्न भएमा उपमहानगरमा रहेका स्वास्थ्य संस्थामा उपलव्ध सेवा लिनुहुन र स्वास्थ्यसंग सम्बन्धित आवश्यक निर्देशनहरुको पालना गर्न उपमहानगरले आग्रह गरेको छ ।









