
काठमाडौं ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्णायक बैठक बोलाएर सरकार गठनको दावीबाट पछि हटेका छन्।
बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार राति ९ बजे सकिन लागेका बेला उनीहरु पछि सरेका छन्। यससँगै अब एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पुनः सरकार बन्ने लगभग पक्का भएको छ।



बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नपाएपछि वैकल्पिक सरकार गठनको दावी गर्दै राष्ट्रपति समक्ष दावी प्रस्तुत गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र उपेन्द्र यादव नेतृत्वको जसपा तत्काल पछि सरेका हुन्।
एमाले अध्यक्ष ओली र एमालेको असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालबीच वार्ता भएपछि नेपालसम्बद्ध सांसदहरुले पूर्व घोषित कार्यक्रम अनुसार आज दिने भनिएको राजीनामा नदिने भएका थिए।
बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।
३२ (दुई निलम्बित) सांसदको समर्थन रहेको जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमा नेता महन्थ र यादव गुट बिच विवाद रहेकाले कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पछि हट्न बाध्य भएका हुन् ।
यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।
उनी जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समूहका सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दावी गर्ने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने प्रष्ट भइसकेको छैन ।
यसरी बनेको सरकारले पनि ३० दिन भित्र पुन विश्वासको मत लिनु पर्नेछ।








