
बागलुङ ।
विवाहमा सहभागी भएको २१ दिनमा एकै परिवारका चार जनाको कोभिडबाट मृत्यु भएको छ ।
वैशाख ११ गतेको विवाहमा सहभागी भएका बडिगाड गाउँपालिका–४ जलजलाका एकै परिवारका चार जनाको कोभिड संक्रमणबाट मृत्यु भएको हो ।



मृत्यु हुनेमा ८७ वर्षीय वृद्ध, ४० र ५१ वर्षीय उनका छोराहरू र ५३ वर्षीया छोरी रहेका छन् ।
वैशाख १७ गते श्वासप्रश्वासमा अप्ठ्यारो भएपछि धौलागिरी अस्पताल पुर्याएका वृद्धको २१ गते ज्यान गएको थियो ।
४० वर्षीय छोराको वैशाख ३० गते बेलुका धौलागिरी अस्पतालमा र ५१ वर्षीय छोराको ३१ गते पोखराको मणिपाल अस्पतालमा मृत्यु भएको हो । शनिबार दिउँसो धौलागिरी अस्पतालका वृद्धकी ५३ वर्षीया छोरीको पनि कोभिड संक्रमणकै कारण मृत्यु भयो ।
वैशाख ११ गते विवाहको भोज खाएकाहरूमा सात दिन भित्र ज्वरो आउने, रुघाखोकी लगायतका लक्षण देखिन थालेको थियो ।
गाउँपालिकाले वैशाख १९ र २२ गते गाउँमै पुगेर पीसीआर परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको थियो ।
विवाहमै सहभागी अन्य दुई जनाको पनि मृत्यु भइसकेको छ । अन्य केही संक्रमीतहरुको जटिल अवस्थामा अस्पतालमा उपचार भैरहेको छ ।









