
दाङ ।
यही जेठ १७ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावका लागि लुम्बिनी प्रदेशमा दुई जनाको उम्मेदवारी परेको छ ।
रष्ट्रिय सभा सदस्यका लागि दीर्घनारायण पाण्डे र चन्द्रबहादुर खड्काको मनोनयन दर्ता भएको दाङमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काको उम्मेदवारी परेको हो ।
चार दलीय गठबन्धनबाट उम्मेदवारी दिनुभएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्थ्यो ।
एमालेका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित उहाँ केही दिनअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।
यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका खड्का यसअघि पनि राष्ट्रिय सभा सदस्य उम्मेदवार हुनुहुन्थ्यो ।
माओवादीबाट निर्वाचित अर्घाखाँचीका उहाँ एमाले प्रवेश गरेपछि उहाँलाई माओवादीले कारबाही गरेको थियो।
माओवादीको कारबाहीपछि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि एमालेले उहाँलाई नै फेरि उम्मेदवार चयन गरेको हो ।









