
तिलोत्तमा ।
कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा तिलोत्तमा नगरपालिकाले वडा नं. ९ केवलानी स्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ ।
शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप थेक्न नसक्ने देखिएपछि थप आइसोलेशन सेन्टर निर्माण गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।



तत्काल ४० बेड रहेपनि केवलानीको कोरोना अस्थायी अस्पतालमा बेड संख्या एक सय पुर्याउन सकिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिकाको सभाहल नयाँ रहेकोले विद्युत्, खानेपानी, सरसफाईलगायत आवश्यक पूर्वाधार निर्माण गरी आइसोलेशन सेन्टर निर्माण गरिएको हो ।

अस्थायी अस्पतालमा सेन्टर फ्लो अक्सिजन सिष्टमबाट बिरामीलाई आवश्यकताअनुसार अक्सिजन उपलब्ध गराइने कोरोना फोकल पर्सन केशव भट्टराईले जानकारी दिए । उनका अनुसार यो सिष्टमबाट बिरामीलाई अक्सिजन दिँदा अक्सिजन किफायती हुन्छ ।
बुधबार अस्थायी अस्पतालको चावी कोरोना फोकल पर्सन भट्टराईलाई हस्तान्तरण गर्दै नगर प्रमुख घिमिरेले कोरोना महामारीसँग जुध्न नगरपालिकाले उपलब्ध सबै साधनस्रोतको उच्चतम प्रयोग गर्ने बताए ।
अस्थायी अस्पताल निर्माणमा सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै नगर प्रमुख घिमिरेले अस्पतालमा थप सेवा सुविधा थप्दै लगिने बताए ।
नगरपालिकाले अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।









