
बुटवल ।
कोरोना महामारीमा समाज रक्षाको लागि हाम्रो एउटा सानो प्रयास भन्ने नारा सहित सत्य संजाल संस्थाले आजबाट सैनामैनामा नि शुल्क अटो एम्बुलेन्स सेवा सुरु गरेको छ ।
स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्ड अपनाइ संचालन गरिने निशुल्क अटो सेवाले कोभिड १९ बाट संक्रमितहरुलाई अस्पताल सम्म पुर्याउन सहयोग गर्ने सत्य संजाल संस्थाका केशव राज कडेलले जानकारी दिए ।



सत्य संजाल संस्थाद्वारा संचालित निशुल्क अटो एम्बुलेन्स सेवा शुभारम्भ गर्दै सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले महामारीको समयमा निशुल्क अटो एम्बुलेन्स सेवाले विपन्न तथा गरिब परिवारलाई ठुलो राहत पुग्ने बताएका छन। बिषम परिस्थितीमा मानव सेवामा लाग्नु जिवित छदै पुण्य कमाउनु भएको उल्लेख गर्दै नगर प्रमुख कार्कीले बिपदमा परेकाहरुको सेवाले बास्तबमै स्वर्गिय आनन्द प्राप्त हुने बताए ।
निशुल्क अटो एम्बुलेन्स सेवा संचालन गर्ने सेवामुलक कार्यको नगरपालिकाको पनि साथ र सहयोग हुने नगर प्रमुखले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
बिषम परिस्थिति पुर्व पनि अटो संचालकहरुले सेवा दिइरहेको र कोभिड १९ को महामारीका बिचमा कोभिड १९ बाट संक्रमितहरुलाई यथासम्भव अस्पतालमा पुर्याउन सहज होस भन्ने उद्धेश्यका साथ आफुहरुले स्वास्थ्य मापदण्ड अपनाई निशुल्क अटो एम्बुलेन्स संचालन गरेको सत्य संजाल संस्थाका प्रदिप पाण्डेले बताए ।
सत्य संजाल संस्थाले ३ वटा अटो मार्फत सेवा शुरु गरेको छ ।









