
काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।
बिहीबार बेलुकी बसेको मन्त्रिपिरषद्ले गरेको निर्णय अनुसार राष्ट्रपति भण्डारीले भोलि बेलुकी ५ बजे सम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार पेश गर्न आह्वान गरेकी हुन्।



राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै भोलि जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ।
संविधानको धारा ७६को उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत प्राप्त नहुने देखेर मार्ग प्रशस्त गरेका हुन्।
उपधारा ५ मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत पाप्त गर्न सक्ने कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
राष्ट्रपतिले दिएको समयभित्र बहुमतको आधार प्रस्तुत गर्न नसकेमा संवैधानिक रुपमै प्रतिनिधिसभा भंग हुनेछ र ओली कै नेतृत्वमा उपनिर्वाचन हुनेछ।








