
बाँके ।
भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको छ।
कोरोना भाइरस संक्रमणबाट उपचारका क्रममा मृत्यु भएका दाङ तुल्सीपुरका ५२ वर्षका डिल्ली राज रावतका भाइहरु मानबहादुर रावत,
भरत रावत तथा छोरा लोकराज रावतविरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको बाँकेका एसपी ओम राणाले जानकारी दिए।



उनीहरुले बिहीबार राति भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गरेका थिए। कोभिड आइसियूमा प्रवेश गरी उनीहरुले चिकित्सक र नर्सलाई लखेटी लखेटी आक्रमण गरेका थिए।
त्यसक्रममा एकजना चिकित्सक र तीन जना नर्सले एक तला माथिबाट हामफालेर ज्यान जोगाएका थिए। मुद्दा दर्ता भएका मध्ये मृतक रावतका भाइ मानबहादुर नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन्।
रावत यसअघि तुलसीपुर उपमहानगरपालिकामा नायब सुब्बा हुँदा मेयर घनश्याम पाण्डेका स्वकीय सचिव भएको र एक जना कार्यपालिका सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपपछि जागिर गएको थियो।









