
बुटवल ।
आर्थिक वर्ष २०७८÷७९ मा लुम्बिनी प्रदेशका महत्त्वपूर्ण आयोजनाका लागि ठूलो बजेट विनियोजन भएको छ ।
लुम्बिनी प्रदेशको रुपन्देहीबाट सांसद निर्वाचित अर्थमन्त्री विष्णु पौडेलले प्रदेशमा स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुद लगायतका क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरेका हुन् ।



विनियोजित बजेट अनुसार पश्चिम नवलपरासीको बर्दघाटमा टर्मा सेन्टर स्थापना हुने भएको छ । बाँकेको सिक्टा सिँचाइका लागि १ अर्ब ५६ करोड बजेट विनियोजन गर्दै २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
नौमुरे आयोजनालाई पनि बजेट विनियोजन गरिएको छ । कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाको डीपीआर आउँदो वर्ष पूरा गरी काम शुरू गरिने भएको छ । यो देशकै ठूलो आयोजना हो । यो आयोजनाको सुत्रधार अर्थमन्त्री पौडेल नै हुन् ।
अर्थमन्त्री पौडेलले तिनाउ नदी नियन्त्रणका लागि विनियोजित बजेटलाई निरन्तरता दिएका छन् । पाल्पामा मौसम मापन गर्न राडर स्थापना गरिने भएको छ ।
प्रदेशमा भूमि बैंक स्थापना गरेर १ वर्षभित्र सञ्चालनमा ल्याइने छ । अंग्रेज फौजलाई हराएको बुटवलको जीतगढीलाई संरक्षण गरी विस्तृत अध्ययन गरिने छ ।
रुपन्देहीको मोतिपूणको औद्योगिक क्षेत्र २ वर्षभित्र पूरा गरिने बजेटमा उल्लेख छ । रूपन्देहीको बेलहियामा मालबाहक गाडी पार्किङ गर्न ‘पार्किङ ग्राम’ बनाइने छ ।
रूपन्देहीको तिलोत्तमामा बन्ने बुटवल मेडिकल कलेजको डीपीआर पूरा गरी निर्माणको काम शुरू गरिने छ । लुम्बिनी गुरुयोजना २ वर्षभित्र सम्पन्न गरिने छ ।
बृहत् लुम्बिनीको लागि १ अर्ब ५० करोड विनियोजन गरिएको छ । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल थालिने छ ।
भैरहवामा क्रिकेट मैदानका लागि बजेट विनियोजन गरिएको छ । पाल्पामा लिफ्ट खानेपानी बन्ने छ । बुटवल–कोहलपुर सडकलाई फोरलेनमा विस्तार गरिने छ ।
सिद्धार्थ राजमार्गलाई डेलिकेटेड राजमार्ग बनाउन बजेट विनियोजन गरिएको छ । बुटवल भैरहवा लुम्बिनीका लागि चल्ने विद्यतीय बस चलाउन अनुदान दिइने छ । सिद्धबाबा सुरुङमा निर्माण शुरू गर्न बजेट व्यवस्था गरिएको छ ।
नवलपरासीको त्रिवेणीदेखि देवघाटसम्म जलमार्ग बनाइने छ । लुम्बिनीमा सांस्कृतिक स्मार्ट सिटी बनाइने छ । सिद्धार्थनगरमा सडक ढल खानेपानीका लागि शहरी पूर्वाधार बनाइने छ । बुटवल भैरहवालाई मेगा सिटीको रूपमा विकास गरिने छ ।
बुटवलमा विद्युत् तार भूमिगत गरिने छ । पाल्पाको तानसेनमा शहरी पूर्वाधार विकास गरिने छ । लुम्बिनी प्रदेशको केन्द्र देउखुरीका लागि वित्तीय हस्तान्तरण गर्न पनि बजेट विनियोजन गरिएको छ ।
रुपन्देहीको भैरहवामा निर्माणाधीन विमानस्थलको लागि आर्थिक वर्ष २०७८÷७९ मा ३ अर्ब ५३ अर्ब विनियोजन गरिएको छ ।
विमानस्थल निर्माण सम्पन्न गर्न र दोस्रो टर्मिनल भवन निर्माणका लागि अर्थमन्त्री विष्णु पौडेलले बजेट विनियोजन गरेका छन् ।
विमानस्थल निर्माणको कार्य अन्तिम अवस्थामा पुगेको छ भने छिट्टै सञ्चालनको तयारी छ । त्यसपछि दोस्रो टर्मिनल भवन बनाइने छ । विमानस्थलमा भन्सार कार्यालय स्थापना गरिने बजेटमा उल्लेख छ ।








