
काठमाडौं ।
मौसममा सुधार आएको एक दिनमा नै फेरि बदली सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको वायुमण्डलमा पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएर मौसम बदली भएको हो ।



देशका पहाडी भू–भागका अधिकांश स्थानहरुमा आंशिक र सामान्य बदली रहेको छ भने प्रदेश १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । यसअघि बंगालको खाडीमा देखिएको चक्रवातको असर स्वरुप नेपालमा लगातार दुई दिन वर्षा भएको थियो ।
आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।
सोमबार पनि प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा जनाइएको छ । विभागका अनुसार मौसम बदली मंगलबारसम्म रहनेछ ।








