
काठमाडौं ।
कोभिशिल्ड खोप लगाएका ६५ वर्षभन्दा माथिका नागरिकले तत्काल दोस्रो मात्रा लगाउन नपाउने भएका छन् ।
परिवार कल्याण महाशाखा निर्देशक डा.तारानाथ पोखरेलका अनुसार पहिलो चरणको खोप लगाएकाहरुले तत्काल दोश्रो मात्रा लगाउन नपाउने भएका हुन् ।



यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप लगाइएको ९ देखि १२ हप्ताको बीचमा दोस्रो मात्रा दिने घोषणा गरेको थियो ।
जेष्ठ नागरिकहरुले पहिलो मात्रा लगाएको ११ हप्ता नाघिसकेको छ । १२ हप्ताभित्र खोपको दोस्रो मात्रा दिने सम्भावना कम रहेको पोखरेलले बताए ।
यद्यपि, यो खोप पहिलो मात्रा लगाइएको १६ हप्ताभित्र पनि दिइने गरिएको छ । यो खोपको दोस्रो मात्रा १२ हप्ता पछि लगाएपनि काम गर्ने पोखरेलले जानकारी दिए ।
केही महिनाअघि भारतबाट ल्याइएको यो खोपको थप डोज आउने नआउने निश्चित नभएपछि अन्योल भएको छ ।








