
दाङ ।
राष्ट्रिय सभा सदस्यका लागि भएको उप निर्वाचनमा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डे निर्वाचित भएका छन्।
पाण्डेले ५ सय २८ मत भार अन्तरले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई पराजित गरेका हुन्। पाण्डेले स्थानीय तहतर्फ २ हजार १ सय २४ र प्रदेशसभा तर्फ २ हजार १६ गरी कूल ४ हजार १ सय ४० मत भार प्राप्त गरे।



खड्काले स्थानीय तहतर्फ १ हजार ६ सय ९२ र प्रदेश सभातर्फ १ हजार ९ सय २० गरी कूल ३ हजार ६ सय १२ मत भार प्राप्त गरे।
प्रदेश सभा सदस्यको एक मतको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ मत भार गणना हुन्छ । पाण्डेलाई स्थानीय तहका प्रमुख–उपप्रमुख १ सय १८ र प्रदेशसभा सदस्य ४२ जनाले मतदान गरे।
खड्कालाई स्थानीय तहका प्रमुख–उपप्रमुख ९४ र प्रदेश सभा सदस्य ४० जनाले मतदान गरेका हुन्। प्रदेशसभा सदस्य र स्थानीय तह तर्फ एक–एक मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
तीन सय मतदाता रहेकोमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१३ गरी २९६ मत खसेको थियो।
कांग्रेस उम्मेदवार पाण्डेलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समूहको समर्थन रहेको थियो । खड्कालाई जसपाका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले भोट दिएको थियो।









