
काठमाडौं ।
बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ ।
आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।



महाशाखाले आज विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको र सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन समेत अनुरोध गरेको छ ।
नेपालमा सामान्यतया मनसुन जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ।
दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च (एसएएससिओएफ)ले आगामी मनसुन अवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आंकलन गरेको छ ।








