
काठमाडौं ।
सरकारले नेपालको पुरानो नक्सा प्रकाशित भएको पाठ्यपुस्तकको पाना परिवर्तन गर्ने भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशकबाट अघिल्ला वर्ष प्रकाशन भएको पाठ्यपुस्तकबाट पुरानो नक्शा भएको पाना झिकेर नयाँ नक्सासहितको पाना समावेश गर्न लागेको हो ।
सरकारले गतवर्ष लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो ।
नयाँ नक्सा जारी हुनुअघि प्रकाशन भएको विद्यालयस्तरको पाठ्यपुस्तक अहिले पनि प्रचलनमा रहेको पाइएपछि सरकारले ती पाठ्यपुस्तकको पाना फेर्न लागेको हो ।



शुक्रबार बसेको पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिको बैठकले गत वर्ष पुरानो नक्सासहित छापिएको पुस्तकको पानालाई संशोधन गर्ने निर्णय गरेको हो ।
जनक शिक्षा सामग्री एवं निजी प्रकाशन गृहले नयाँ नक्सा जारी हुनुअघि प्रकाशन गरेको पुस्तकको पाना संशोधन गरिने जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।
गत बुधबार शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले पुरानो नक्सा छापिएको पुस्तक जफत गर्नुको साथै बिक्री वितरण गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए ।
पुस्तक सबै प्रादेशिक कार्यालयमा पठाइसकिएको र बिक्री वितरण पनि शुरु भइसकेकोले वितरक, विद्यालयमार्फत संशोधन गर्ने निर्णय भएको प्रबन्ध निर्देशक झाले बताए ।








