
काठमाडौं ।
गएको २४ घण्टामा १२ हजार चार सय ६ जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा सात हजार पाँच सय १७ जनाको पीसीआर र चार हजार आठ सय ८९ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा दुई हजार चार सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



अहिले नेपालमा कोरोनाको परीक्षण घटेसँगै सङ्क्रमितको सङ्ख्या पनि घटेको छ ।पीसीआर र एन्टिजेनमार्फत निःशुल्क परीक्षण गर्ने व्यवस्था भए पनि परीक्षण गराउन जानेको सङ्ख्या घटेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवम् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले बताए ।
गाउँघरमा सङ्क्रमणको जोखिम रहेकाले कोभिडको कुनै लक्षण देखिनासाथ नजिकैको स्वास्थ्य संस्थामा परीक्षणका लागि जान पनि प्रवक्ता पौडेलको अनुरोध छ ।
आज देशभरका ४४ वटा जिल्लामा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले देशभर ६८ हजार ९ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै गएको २४ घण्टामा तीन हजार नौ सय ५४ जना डिस्चार्ज भएका छन् । यस्तै कोरोना सङ्क्रमणका कारण थप ४६ जनाको जनाको ज्यान गएको छ ।








