
कपिलबस्तु ।
नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेयको हत्या उनकै श्रमतीको योजनामा भएको खुलेको छ।
हत्याको योजना बनाउने पाण्डेकी श्रीमती महिमासहित हत्यामा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेकाहरुलाई कपिलवस्तु प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।



कपिलवस्तु–१ का ३९ वर्षीय ओमप्रकाश यादव र महिमाबीच तीन वर्षदेखि नै दुवै मिलेर दीपक पाण्डेयलाई मार्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ।
महिमा र यादवबीच पाँच वर्षदेखि अनैतिक सम्बन्धसमेत रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
यादवले विभिन्न समयमा विभिन्न व्यक्तिलाई पाण्डेयलाई मार्न सुपारी समेत दिएको खुलेको अधिकारीले बताए।
जेठ ५ गते गोली हानी घाइते भएका पाण्डेयको उपचारको क्रममा जेठ १० गते मृत्यु भएको थियो।
हत्यामा संलग्न रमजान साह मुसालमान, साकिर अलि पाखिया, पुर्णविर पाल्पाली कुम्हाल, सद्धाम हुसेन, ज्ञानेन्द्र कुमार पाण्डेय, राधेश्याम चौधरी, श्रीराम चौधरी, नसरत अलि र प्रविण गुप्तालाई प्रहरीले सर्वजनिक गरेको छ।
घटनामा संलग्नहरु हातहतियारसहित पक्राउ परेका र उक्त हातहतियार खरिद बिक्री, ओसारपसार कार्यमा संलग्न सम्पूर्णलाई संगठित अपराध सजाय ऐन २०७० बमोजिम कपिलवस्तु जिल्ला अदालतबाट म्याद गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।









