
कपिलवस्तु ।
कपिलवस्तुमा जारी निषेधाज्ञा एक साता थप गरिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले असार १४ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।



बैठकले जिल्लाभित्र अटो रिक्शा बाहेक अन्य सार्वजनिक यात्रुवाहक सवारी साधन, मेला, हाट बजार, महोत्सव, जात्रा संचालन गर्न रोक लगाइएको छ ।
त्यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अत्यावश्यक वस्तु वा सेवा, औषधि, बिउ, विजन, एग्रोभेट, पानी, खाद्यवस्तु, ग्याँस, पेट्रोलियम पदार्थ, दुध र दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, कृषि औजार बिक्री वितरण, गर्ने सहकारी तथा पसलहरु, स्टेशनरी, पुस्तक पसल, कपडा, फेन्सी, जुत्ता पसल, किराना तथा होलसेल पसल, कोल्ड ड्रिंक्स, मदिरा पसल (खरिद गरी लैजान मात्र), हार्डवेयर, मर्मत केन्द्र विहान ९ देखि अपराहन्न ५ बजे सम्ममात्र खोल्न सकिने छ ।
भिडभाँड गरे गराएमा तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगराएमा पसल, व्यवसाय सञ्चालकलाई कानून बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।
मानिसहरु पाँच जना भन्दा बढी भेला हुन, भिडभाड, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, मनोरञ्जन स्थल, स्वीमिङ पुल, जिमखाना, समुहमा खेल्ने खेलकुद, कवर्डहल, पुस्तकालय, संग्रहालय, चिया पसल, खाजा घर, होटल, रेष्टुरेन्ट, पान पसल, शैलुन र व्युटीपार्लर सञ्चालन गर्न रोक लगाइएको छ ।
होटल तथा रेष्टुरेन्टले बिहान ९ देखि बेलुका ५ बजेसम्म टेक अवे र होम डेलिभरी मात्र उपलब्ध गराउन सकिने छ ।









