
गुल्मी ।
मालिका गाउँपालिकाले स्थानीय लोकल रक्सी (घरेलु मदिरा)लाई ब्राण्डिङ गर्ने भएको छ।
गाउँपालिकाले नवौं गाउँसभाबाट स्थानीय स्तरमा उत्पादन हुने लोकल रक्सी बिक्री वितरण तथा व्यवस्थापन ऐन २०७८ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए।



स्थानीय स्तरमा उत्पादन हुने कोदो र खुर्पानीको रक्सीलाई गुणस्तर मापन गरी स्टिकर टास्ने र सिलबन्दी गर्ने गरी ऐन तयार पारी पारित गरिएको भण्डारीले बताए। ऐन गाउँसभाबाट पारित भएसँगै अब नियमावली बनाएर कार्यान्वयन गर्ने भण्डारीको भनाइ छ।
गाउँपालिकाले बनाएको ऐन विपरीत घरेलु मदिरा बिक्री वितरण र उत्पादन गरे ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने ऐनमा उल्लेख छ।
अवैध रुपमा गाउँमा घरेलु मदिराका भट्टीहरु चलेको भन्दै त्यसलाई कानुनी दायरामा ल्याएर साना उद्योगको रुपमा सञ्चालन गर्ने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए।









