
गुल्मी ।
गुल्मीमा कलिलो अवस्थाको उन्नत जातको घाँस खुवाउँदा ११ वटा माउ बाख्रा मरेका छन्।
जिल्लाको चन्द्रकोट गाउँपालिका –७ रुपाकोटको सिद्धेश्वर बाख्रा फर्मका जमुनापारी र बोयर जातका बाख्रा मरेका हुन्।



लगातार तीन दिनसम्म परेको वर्षाका कारण बाख्रालाई उन्नत जातको नेपियर, सुडान जातको कलिलो घाँस खुवाइएको र त्यसपश्चात बाख्रा बिरामी परेका संचालक महाशर्मा भण्डारीले बताए।
घाँस खुवाएको एक दिनपछि बाख्रा एक्कासि बिरामी परेका र सोमबार साँझ ११ वटा बाख्रा मरेको भण्डारीले बताए। कलिलो घाँस खुवाएपछि सोही फर्मका अन्य ३० बाख्रा बिरामी परेका छन्।
बिरामी बाख्रालाई आवश्यक औषधि गरिएको र अवस्था सुधारात्मक रहेको चन्द्रकोट गाउँपालिकाका पशु शाखा संयोजक ईश्वरीप्रसाद वलीले जानकारी दिए।
भण्डारीको फर्ममा मरेका बाख्राको मूल्य दुई लाख २० हजारभन्दा बढी हुने वलीले बताए। वलीका अनुसार पालुवा घाँसमा रहेको नाइट्रेट र एसियन नामको विषादी तत्वले गर्दा बाख्रा मरेका हुन्।









