
बुटवल ।
रुपन्देहीमा जारी निषेधाज्ञाको अवधि जेठ ३१ गतेसम्म कायम गरिएको छ ।
विहिबार बसेको डिसीसीएमसीको बैठकले निशेधाज्ञा बढाउन सिफारिस गरेको थियो । सोहि सिफारिसलाई आधार मानी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ ३१ गतेसम्म निशेधाज्ञाको अवधि बढाएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।



यस अवधिमा शान्ति सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।
जिल्ला भित्र सबै प्रकारका निजि तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ ।
सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठि, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्यूटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाईएको छ ।









