
काठमाडौं ।
सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश अघि परीक्षा लिने गृहकार्य सुरु गरेको छ ।
शुक्रबार सञ्चार मन्त्रालयले गरेको कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत बजेटमा घोषित आमसञ्चार प्रतिष्ठानको गठन आदेश कार्यविधि तयार पारिएको जानकारी दिए । सो कार्यविधि कानुन मन्त्रालय र अर्थमन्त्रालयमा पठाइएको उनको भनाई छ ।



सो प्रतिष्ठान कार्यान्वयनका लागि एउटा कार्यदल पनि गठन गरेको मन्त्री गुरुङले जानकारी दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ । बजेट बक्तब्यबाट आमसञ्चार प्रतिष्ठान स्थापना गर्ने विषय आएपछि मन्त्रालयले द्रुत गतिमा कार्यविधि र कार्यदल बनाएको मन्त्री गुरुङको भनाई छ ।
उनले सरकारी कर्मचारी हुन लोकसेवा पास गरेपछि पनि तालिम लिनुपर्ने, नेपाली सेना, प्रहरीमा प्रवेशपछि पनि तालिम लिनुपर्ने व्यवस्था भएको बताउँदै पत्रकारहरु अझ बढी जवाफदेही भएकोले उनीहरुका लागि आमसञ्चार प्रतिष्ठान गेम चेन्जर भएको उल्लेख गरे ।
उनले सो प्रतिष्ठानलाई कसरी अघि बढाउनेबारे पत्रकार महासंघ, सरोकारवाला पक्षसँग मस्यौदा बनाएर सुझाव लिने बताउँदै सकिन्छ भने साउन १ गते देखि नै आमसञ्चार प्रतिष्ठानलाई स्वायत्त विकास समितिको रुपमा अघि बढाउन लागेको जानकारी दिए ।








