
नवलपरासी ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका– २ मा शितभण्डार निर्माण कार्य सुरु भएको छ ।
जिल्ला सहकारी संघले शितभण्डार निर्माण कार्य अघि बढाएको हो । शितभण्डार निर्माण कार्यमा जिल्लाका सबै स्थानीय तहहरुको सहभागिता रहने जनाइएको छ ।



पश्चिम नवलपरासी जिल्लाका कृषकहरुलाई लक्षित गरी सुनवल नगरपालिका– २ मा निर्माण सुरु गरिएको शितभण्डारको कुल लागत २१ करोड रुपैयाँ रहेको छ । अहिले शितभण्डारको निर्माण कार्य आधाभन्दा बढी सकिएको छ ।
शितभण्डार निर्माणपछि कृषकहरुका उत्पादित वस्तुहरुको संरक्षण, प्रसोधन, भण्डारण र बजारिकरणको व्यवस्था हुने छ भने शितभण्डारलाई प्रयोगशालाका रुपमा अघि बढाएर बिउ बिजनसमेत उत्पादन गर्ने लक्ष्य रहेको जिल्ला सहकारी संघका अध्यक्ष विष्णुप्रसाद पौडेलले बताए ।
३ हजार मेट्रिक टन क्षमताको शितभण्डार अत्याधुनिक प्रविधिसहितको रहने छ ।शितभण्डार निर्माणका लागि नगरपालिकाले डेढ बिगाहा जग्गा उपलब्ध गराएको छ ।
निर्माणाधिन शितभण्डारको कुल लागतमध्ये ६० प्रतिशत रकम संघीय सरकारको हो ।त्यसबापतको १२ करोड ६० लाख रुपैयाँ संघीय सरकारले पठाइ सकेको छ ।
अन्य ४० प्रतिशत रकम प्रदेश, स्थानीय सरकार र जिल्लामा रहेका सहकारी संस्थाहरुको रहेको छ ।२ वर्षभित्र सम्पन्न गर्नुपर्ने शितभण्डार निर्माणको काम कोरोना संक्रमणका कारण हुन नसकेपछि आगामी मंसिर मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।









