
काठमाडौं ।
नेकपा एमालेको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि बस्दै छ ।
१० दिनदेखि लगातार छलफलमा रहेको नेकपा एमालेको कार्यदलले विवाद समाधानका लागि सहमति नजिक पुगेको दावी गरेको छ ।



कार्यदलले आजै विवाद समाधानको दस्ताबेजमा हस्ताक्षर गरेर सार्वजनिक गर्ने पनि जनाएको छ ।
पार्टी विभाजनको सम्भावित संकट टार्न एमालेका दोस्रो तहका नेताहरू सम्मिलित १० सदस्यीय कार्यदलले माओवादी केन्द्रसँग एकता हुनुअघिका संरचना क्रियाशील गराउनेलगायतका विषयमा सहमतिको मस्यौदा तयार गरेको जनाएको छ ।
वरिष्ठ नेता माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रयोग भएको हस्ताक्षर फिर्ता नलिने अडान राखेपछि त्यसबारे कस्तो भाषामा सहमति खोज्ने भन्ने विषय भने टुंगिन बाँकी छ ।
त्यसैगरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको शक्ति बाँडफाँटको विषय टुंगिएपछि मात्र सहमतिले मूर्त रुप पाउने कार्यदलका सदस्यहरुले जनाएका छन् ।
हिजोको बैठकमा पार्टीका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थाबाट सक्रिय बनाउने भन्नेमा सहमति जुटेको छ । यो संरचना क्रियाशील गराउन ओली पक्षले आनाकानी गरिरहेको थियो ।
यस्तै, माओवादीसँगको एकतापूर्वको २ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्न दुवै पक्ष तयार भएका छन् । २ सय ४१ सदस्यीय केन्द्रीय कमिटी ब्युँताउने ओली पक्षको प्रस्तावमा यसअघि झलनाथ खनाल–नेपाल पक्षले असहमति राख्दै आएको थियो ।








