
काठमाण्डौ ।
आज विश्व जनसङ्ख्या दिवस । समाधानका लागि अधिकार र छनोट :शिशु सङ्ख्यामा उच्च वृद्धि वा कम जे भए पनि प्रजनन दर सुधार गर्न प्रजनन स्वास्थ्य र सबै नागरिकको अधिकारको प्राथमिकीकरण नै हो भन्ने नाराका साथ मनाइँदैछ ।
कोभिड जित्न समग्र विश्वलाई आह्वान गर्दै यसपालि विभिन्न कार्यक्रम हुँदैछन् ।



सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ तारिखमा विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । कुनै पनि देशको भूगोल, संस्कृति, वातावरण, विकास लगायतका कुरामा जनसङ्ख्याले ठूलो प्रभाव पारेको हुन्छ ।
सन्तुलित जनसङ्ख्या बिना कुनै पनि देशको सुरक्षा, विकास दीगो भविष्यको कल्पना पनि गर्न सकिन्न । विश्वको शक्तिकेन्द्र तथा विश्वको जनसङ्ख्यामा आफ्नो अधिकतम स्थान राख्ने चीनले बढ्दो जनसङ्ख्याको भय बुझेर ‘एक सन्तान प्रणाली’लागू गरेको थियो ।
तर पछिल्लो समय जनसङ्ख्याको निश्चित स्तर हासिल गर्न लामो समयको अध्ययन पछि सन् २०१५ मा दुई सन्तान जन्माउन अनुमति मात्र होइन कि आफ्ना नागरिकलाई आह्वान नै गरेको छ ।
यस्तै संसारमै सबैभन्दा व्यस्त जीवनशैली अपनाएका जापानीहरूलाई व्यक्तिगत तथा पारिवारिक समय निकाल्न तथा बढ्दो वृद्ध–वृद्धाहरूको जनसङ्ख्यासँग तालमेल मिलाउन योजनासहितका सन्तानप्राप्ति अर्थात् बच्चा जन्माउन प्रेरित गरिन्छ ।
अन्य धेरै देशहरूमा जनसङ्ख्याको एउटा निश्चित स्तर तथा सन्तान उत्पादनको निराशाजनक उदाहरणहरू बढ्न थालेका छन् ।








