
काठमाण्डौ ।
अबको तीन दिन नै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् गंगा नगरकोटीका अनुसार लगातार झरी पर्ने सम्भावना नभएपनि पानी पर्दै रोकिने क्रम भने अझै केही दिन चलिरहने छ ।



बङ्गालको खाडीबाट जलवाष्युक्त हावा नेपाल भित्रिरहेकाले पनि मनसुन थप सक्रिय भएको छ । केही दिनयता देशभर पानी परिरहेको छ ।
गएराति प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।
आज पनि प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।
प्रदेश–२, लुम्बिनी र कर्णाली प्रदेशमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् नगरकोटीले बताउनुभयो ।
अझै केही दिन पानी पर्ने सम्भावना रहेकाले भिरालो जमिनमा पहिरो जाने र नदी तथा खोला आसपासमा बाढीको जोखिम हुने भएकाले आवश्यक सावधानि अपनाउन मौसमविद्को आग्रह छ ।








